भक्तपुरका विष्णुप्रसाद डुमरूलाई चच्याङ प्रान्तको ‘वेस्ट लेक फ्रेन्डसिप एवार्ड’बाट सम्मानित
विष्णुप्रसाद डुमरूले चच्याङ प्रान्तको प्रतिष्ठित ‘वेस्ट लेक फ्रेन्डसिप एवार्ड’ प्राप्त गरेका छन्
बेइजिङ — चीनको चच्याङ प्रान्तीय सरकारबाट एक नेपाली व्यापारीले फ्रेन्डसिप एवार्ड प्राप्त गरेका छन्।
चच्याङ प्रान्तबाट विदेशीलाई दिने ‘वेस्ट लेक फ्रेन्डसिप एवार्ड’ चच्याङ प्रान्तको यिऊ सहरमा बसेर व्यापार गर्दै आएका भक्तपुरका विष्णुप्रसाद डुमरूले पाएका हुन्।
‘वेस्ट लेक फ्रेन्डसिप एवार्ड’ चच्याङ प्रान्तको आर्थिक निर्माण र सामाजिक विकासमा उत्कृष्ट योगदान र समर्पणका लागि विदेशी विशेषज्ञलाई कदर गर्न प्रान्तीय सरकारले स्थापना गरेको पुरस्कार हो। सन् १९९७ मा पहिलोपटक प्रदान गरिएको सो पुरस्कार दुई वर्षमा एकपटक दिने गरिन्छ।
चिनियाँमा सिहु भनिने वेस्ट लेक अर्थात् पश्चिम ताल चच्याङ प्रान्तको सदरमुकाम हाङचौमा अवस्थित प्रसिद्ध पर्यटकीय क्षेत्र हो। विदेशी विशेषज्ञलाई सम्मान र प्रशंसा गर्न प्रान्तीय सरकारले सोही नाममा पुरस्कार स्थापना गरेको हो।
२५ वर्षदेखि नेपाल र चीनबीचको व्यापार व्यवसायमात्रै होइन, नेपाली व्यापारी डुमरूले आफूलाई एक सहजकर्ता र व्यापारिक तथा सांस्कृतिक दूतका रूपमा समेत ढाल्दैल गएका छन्। उनी नेप्लिज चेम्बर अफ कमर्स इन चाइना यिऊका अध्यक्ष पनि हुन्। उनी नेपाल चीन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री यिऊ अफिस, नेप्लिज चेम्बर अफ कमर्स चाइना, गैरआवासीय नेपाल संघलगायतका नेपाल र नेपालीसित सम्बन्धित विभिन्न संघसंस्थामा पनि आबद्ध छन्।
हजारौँको संख्यामा रहेका विदेशी बीच यसरी प्रान्त स्तरमै फ्रेन्डसिप एवार्ड जितेबाट आफूलाई निकै हौसला मिलेको र समग्र नेपालीलाई कदर गरेको जस्तो लागेको डुमरू सुनाउँछन्।
"चीन नेपाल सम्बन्धलाई अझै उकास्न हौसला मिलेको छ। समग्र नेपालीलाई उच्च कदर गरेको महसूस भएको छ। आशा छ भोलि प्रान्तीय स्तरमा मात्रै होइन राष्ट्रिय स्तरकै पुरस्कारबाट सम्मानित हुनेछ। चौतर्फी रूपमा दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन लागि परोस् भनेर नै यो कदर गरेको जस्तो लाग्छ।"
यसपटक सो एवार्ड यिऊ सहरका तीन विदेशीले पाएका छन्। नेपाली, भारतीय र यमनीले आआफ्नो क्षेत्रमा गरेको योगदान तथा दुई देशको सम्बन्धको विकासमा खेलेको भूमिकाका कारण दिइएको डुमरू बताउँछन्।
२० वर्षदेखि यिऊमा बसेर व्यापार गर्दै आएका डुमरू यिऊ विकासका साक्षी पनि हुन्। उनले यिऊलाई एउटा सानो गाउँबाट कसरी विश्वको सबैभन्दा ठूलो खेलौना तथा ससाना वस्तु उत्पादन क्षेत्र बने भन्ने देखेका छन्।
हाल नेपाली सामानलाई चिनियाँ बजारमा पुर्याउन कसरत गरिरहेका उनी नेपाली व्यापारीलाई चीनमा सरसामान खोज्न सहयोग गर्ने तथा परामर्श र ढुवानीको सेवा पनि दिँदै आएका छन्।
यिऊमा बसेर व्यापारबाहेक नेपाल चीन बीच आर्थिक, सामाजिक क्षेत्रमा सम्बन्ध उकास्न, इकमर्सको प्रवर्द्धन, इकमर्सको क्षेत्रमा शैक्षिक सहकार्य बढाउन, स्थानीय आर्थिक विकासमा यिऊ मोडेलको प्रयोग तथा कल्याणकारी गतिविधिहरूमा सक्रिय रूपमा स्वयंसेवकका रूपमा भाग लिने गरेकोले नै आफूलाई छनोट गरेको उनी मान्छन्।
डुमरूले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई २०८० को असोजमा भेट गर्ने नेपाली व्यापारी बन्ने अवसर पाएका थिए। राष्ट्रपति सीलाई भेट्ने सम्भवतः उनी पहिलो नेपाली व्यापारी पनि हुन्।